काठमाडौं । गएको सोमबार बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशील सहनी निकै बेर ननिस्केपछि ढोका फुटाएर हेर्दा उनी बेहोस अवस्थामा भेटिए । नजिकै काठमाडौं मोडल अस्पताल लगिएका उनको सोही दिन आईसीयूमा मृत्यु भयो ।
कक्षा ११ मा अध्ययनरत सहनीको मृत्युपछि उनका परिवारले कलेज व्यवस्थापनमाथि प्रश्न उठाएको छ । ‘होस्टल कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको’ भन्दै परिवारले दोषीमाथि कारबाही माग गरेको छ । सहनीको मृत्युपछि भौतिक उपस्थितिमा विद्यार्थीले पढ्नसमेत पाएका छैनन् ।
– २०७६ पुस चौथो साता झापा बुद्ध–शान्ति गाउँपालिका–४ की २० वर्षीया स्वशिका लिम्बूको काठमाडौं मिलनचोकस्थित रूमिज गल्र्स होस्टलमा मृत्यु भयो । तेस्रो तलामा रहेको बाथरुममा नुहाउन गएकी लिम्बू लामो समय बितिसक्दासमेत ननिस्केपछि उनीसँगै बस्ने साथी क्रान्तिले ढोका ढकढ्याइन् । तर ढोका नखुलेपछि होस्टलकै दुई महिला कर्मचारी र क्रान्ति मिलेर बाथरुमको भेन्टिलेसन फुटाए । स्वशिका बाथरुममा ढलिरहेकी थिइन् । ढोका फोडेर छिर्दा उनको शरीर चिसो भइसकेको थियो । प्रहरीले भेनस अस्पताल लगे पनि ‘अन्यत्र लैजान’ भनेपछि बानेश्वरको सिभिल अस्पताल लगियो । चिकित्सकले स्वशिकालाई मृत घोषणा गरे ।
– वीरगन्जकी १९ वर्षीया जेनिथ चौहानको पनि २०७६ पुस चौथो साता नुहाउनेक्रममा बाथरुममा मृत्यु भयो । ललितपुर–१५ सातदोबाटोस्थित सुरिवा गल्र्स होस्टलमा उनी बस्दै आएकी थिइन् ।
– २५ पुस २०७६ मा कीर्तिपुर नगरपालिका–८ मा मकल बालेर सुतेका आमाछोराको मृत्यु भयो । ‘कोठा न्यानो बनाउन’ भन्दै मकल बालेर सुतेका ३६ वर्षीया शर्मिला रञ्जितकार र दुईमहिने छोराको सुतेकै ठाउँमा मृत्यु भएको थियो ।
– ७ माघ २०७६ मा घुम्न आएका आठ भारतीय नागरिक मकवानपुर थाहा नगरपालिका–४ दामनस्थित पानोरोमा रिसोर्टमा बेहोस अवस्थामा भेटिए । उपचारका लागि हेलिकोप्टोरबाट काठमाडौं ल्याइए पनि सबैलाई ह्याम्स अस्पतालमा मृत घोषणा गरियो ।
जाडोमा होस नपु-याउँदाको परिणाम
काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्दो छ । यो वर्ष उपत्यकाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । हिमाली जिल्लाको न्यूनतम तापक्रम माइनसमै झरिसकेको अवस्था छ । हिमाली जिल्लाका बासिन्दा पानी जमेर हैरान छन् ।
जब जाडो बढ्छ, यसपछि शरीरले तातो खोज्छ । कोठा बस्दा, सुत्दा वा नुहाउँदा, जाडोमा तातो खोजी तीव्र हुन्छ । कोठामा बस्दा वा सुत्दा, कोठा तताउन विभिन्न उपाय खोजिन्छन् । कसैले कोठाभित्रै दाउरा बाल्छन्, कोहीले हिटर । नुहाउँदासमेत पानी तातो होस् भनेर गिजर चलाउँछौं । तर, सावधानी अपनाएनौं भने उल्लेखित केही घटना नै काफी छन् ।
उल्लेखित उदाहरणमध्ये बाथरुममा नुहाउन गएका सहनी, लिम्बु र चौहान तीनै जनाको गिजरकै कारण मृत्यु भएको थियो । गिजर खोलेर नुहाउने क्रममा अक्सिजन कम भएर उनीहरूको मृत्यु भएको थियो । बाथरुमको झ्याल पूर्णरूपमा बन्द भएको अवस्थामा अक्सिजन कम हुँदा यस्ता घटना हुने गरेका छन् ।
त्यस्तै, कीर्तिपुरका आमाछोरा र आठ भारतीय नागरिकको भने कोठामा पर्याप्त अक्सिजन अभावका कारण निसास्सिएर मृत्यु भएको अनुसन्धानबाट पुष्टि भएको थियो ।
प्रहरी तथ्यांकअनुसार २०६७ सालपछि यस्ता घटनाबाट २२ जनाको मृत्यु भएको छ । १० जना बाँच्न सफल भएका छन् । समयमै अस्पताल लैजान सकिएकाले उनीहरू बचेका हुन् ।
सचेतना कमीका कारण यस्ता घटना हुने गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवर बताउँछन् । ‘यस्ता घटना के कति कारण हुन्छन् ?’ भनेर सर्वसाधारणलाई जानकारी दिनुपर्ने खाँचो छ,’ उनी भन्छन्, ‘झ्याल ढोका केही खुला छ भने यस्ता घटना कम हुन्छ । ग्याँस गिजरमा नुहाउँदा र मकल बालेर सुत्दा निसास्सिएर बर्सेनि मृत्यु हुने गरेको छ ।’
कोठामा मकल र हिटर बालेर सुत्दा वा नुहाउँदा ग्यास गिजर चलाउनुअघि पर्याप्त सचेतना अपनाउनुपर्ने फरेन्सिक विज्ञ डा. प्रमोद श्रेष्ठको भनाइ छ ।
ग्याँस गिजरका कारण ‘कसरी मृत्यु हुन्छ ?’ डा. श्रेष्ठको भनाइअनुसार बन्द बाथरुममा गिजरबाट ग्याँस लिक हुँदा ‘कार्बन मोनोअक्साइड’ निस्कन्छ । त्यसले बेहोस बनाउँछ र मृत्युसमेत हुन्छ ।
‘कोठामा मकल र हिटर बाल्दा नि ?’
जवाफमा डा. श्रेष्ठ भन्छिन्, ‘कोठामा मकल बाल्दा धुवाँ बाहिर जान पाउँदैन । त्यो धुवाँ शरीरमा जान्छ । मृत्युपछि चिकित्सकले पोस्टमार्टम गर्दा रगतमा कार्बन मोनोअक्साइड लेभल परीक्षण गर्छन् । कार्बन मोनोअक्साइडका कारण निसास्सिएर मृत्यु हुँदा शरीरका भाग स्वाभाविकभन्दा रातो र रगत पनि सामान्यभन्दा बढी रातो देखिन्छ । होमोग्लोबिनभन्दा कार्बन मोनोअक्साइडसँग २ सय गुणा छिटो अक्सिजन लिने क्षमता हुन्छ । त्यसकारण, हेमोग्लोबिनले अक्सिजन लिन सक्दैन । र मानिसको मृत्यु हुन्छ ।’
यसरी जान्छ ज्यान
डा. प्रमोद श्रेष्ठ, फरेन्सिक विज्ञ
मकल र हिटर बालेर सुत्नु अत्यन्तै घातक हो । सावधानी अपनाएनौं भने यसले ज्यानसमेत जान्छ । यसरी सुत्दा धेरैको ज्यान पनि गएको छ । वास्तवमा कोइला बालेर सुत्दा धुवाँ निस्कन्छ, त्यो धुवाँबाट कार्बनमोनोअक्साइड ग्याँस निस्कन्छ । अर्काे कुरा मानिसको रगतमा हेमोग्लोबिन भन्ने तत्व हुन्छ । हेमोग्लोबिनले अक्सिजन लिन्छ र शरीरका विभिन्न भागमा सञ्चार गर्छ । तर, मकल र हिटर बालेर सुत्दा हामीले फेर्ने श्वाससँगै कार्बनमोनोअक्साइड पनि जान्छ । कार्बनमोनोअक्साइडसँग हेमोग्लोबिनभन्दा १५ गुना बढी अक्सिजन लिने शक्ति हुन्छ । कार्बन मोनोअक्साइडको धेरै अक्सिजन लिने शक्ति भएकाले शरीरले अक्सिजन पाउँदैन । शरीरमा अक्सिजन कम हुँदै गएपछि बेहोस हुँदै जान्छ र मृत्यु हुन्छ ।
सचेतना कमी छ
वसन्त कुँवर, प्रहरी प्रवक्ता एसएसपी
सचेतना कमीका कारण यस्ता घटना हुने गरेका छन् । ‘यस्ता घटना के कति कारण हुन्छन् ?’ भनेर सर्वसाधारणलाई जानकारी दिनुपर्ने खाँचो छ । झ्यालढोका केही खुला छन् भने यस्ता घटना कम हुन्छन् । आजको राजधानी दैनिकमा रोशन श्रेष्ठले यो समाचार लेखेका छन ।
प्रतिक्रिया