८ मंसिर २०८१, शनिबार | November 23, 2024

किन आफूखुसी रुद्राक्षको माला लगाउनु हुँदैन ?



काठमाडौं । रुद्राक्ष विशेष किसिमको वृक्षको दाना हो । साधारणतया, यो पहाडी क्षेत्रहरूको निश्चित उचाइमा वा हिमालयमा पाइन्छ । अचेल नेपाल, बर्मा, थाइल्यान्ड र इन्डोनेशियामा रुद्राक्षको वृक्ष पाइन्छन् । दक्षिण भारतको पश्चिमी घाटको केही क्षेत्रहरूमा यसका रूख पाइन्छन् । तर, उच्च गुणस्तरको रुद्राक्ष हिमाली भेगको निश्चित उचाइमा पाइन्छ, किनकि यसमा माटो, वातावरण र सबैकुराले प्रभाव पार्छन् ।

कुन रुद्राक्ष उत्तम-एकमुखी, पञ्चमुखी वा अन्य ?

रुद्राक्षको दाना एकमुखीदेखि एक्काइस मुखीसम्म हुन्छ । यिनलाई फरक-फरक प्रयोजनको निम्ति लगाइन्छ, त्यसैले जस्तोसुकै पसलमा गएर जुनसुकै रुद्राक्ष लगाउनु उचित हुँदैन । गलत किसिमको रुद्राक्षले तपाईंको जीवनलाई अस्तव्यस्त बनाउन सक्छ । अधिकांश मानिसहरू एउटा मात्रै मुख भएको एकमुखी रुद्राक्ष लगाउन चाहन्छन्, किनकि यो अत्यन्तै शक्तिशाली हुन्छ । जब तपाईंका अनेक रूपहरू छन्, अनेक अनुहारहरू छन् भने, तपाईंले एकमुखी रुद्राक्ष लगाउँदा समस्याहरूलाई निम्तो दिइरहनु भएको हुन्छ ।

मानिसहरू यस्तो भन्ने गर्छन् कि यदि तपाईंले एकमुखी रुद्राक्ष लगाउनुभयो भने, तपाईंले बाह्र दिनमा आफ्नो घर छोड्नुहुन्छ । तपाईं आफ्नो परिवार छोड्नुहुन्छ वा छोड्नुहुन्न भन्ने विषय महत्त्वपूर्ण होइन । कुरा के हो भने, यसले तपाईंका ऊर्जाहरू यस्तो बनाउँछ कि तपाईं एक्लै रहन चाहनुहुन्छ । तपाईं अरू मानिसहरूसँग मिलनसार रहन सक्नुहुन्न । यदि तपाईं विशेष किसिमका दानाहरू लगाउन चाहनुहुन्छ भने, यही उत्तम हुनेछ कि तपाईं कोही यस्तो व्यक्तिबाट ग्रहण गर्नुहोस्, जसलाई यीबारे राम्रोसँग ज्ञान छ-न कि यत्तिकै बजारमा गएर किनेर लगाउने !

पञ्चमुखी रुद्राक्ष सुरक्षित हुन्छ अनि सबैको लागि सहायक हुन्छ-पुरुष, स्त्री, बच्चाबच्ची जोसुकैको निम्ति समेत । यो रुद्राक्ष सुख-समृद्धि, स्वास्थ्य र स्वतन्त्रताको लागि लाभदायक हुन्छ । यसले तपाईंको रक्तचाप कम गर्छ, तपाईंको स्नायु-तन्त्रमा विशेष रूपमा शान्ति र सतर्कता ल्याउँदछ । १४ वर्षभन्दा कम उमेरका बच्चाहरूले शानमुखी अर्थात् ६ मुखी रुद्राक्ष लगाउन सक्छन् । यसले उनीहरूलाई शान्त र एकाग्र बन्नमा सहायता गर्दछ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि उनीहरूले वयस्कहरूबाट सही हेरचाह र रेखदेख प्राप्त गर्छन् ।

गौरीशङ्कर विशेष प्रकारको रुद्राक्ष हो, जसले तपाईंको इडा(बायाँ नाडी) र पिङ्गला (दायाँ नाडी) बीच सन्तुलन ल्याउँछ । साधारणतया, मानिसहरू यसबाट समृद्धि प्राप्त हुने विश्वास गर्छन् । समृद्धि, आर्थिक पक्षसँग मात्रै सम्बन्धित हुँदैन । यो कैयौँ रूपमा प्राप्त हुन सक्छ । तपाईंसँग केही नभए तापनि तपाईं जीवनमा समृद्ध बन्न सक्नुहुन्छ । यदि तपाईं सन्तुलित बन्नुभयो अनि जीवनमा समझदारीपूर्वक काम गर्नुभयो भने, समृद्धि आफैँ आउनेछ । यस्तो तब हुन्छ, जब ऊर्जाहरूले राम्रोसँग काम गर्छन्; ऊर्जाहरूले तबमात्र राम्रोसँग काम गर्छन्, जब ईडा र पिङ्गला सन्तुलनमा हुन्छन् । गौरीशङ्करले तपाईंको ईडा र पिङ्गलालाई सन्तुलित राखी यिनलाई सक्रिय गर्दछ ।

यदि तपाईं आफ्नो जीवनलाई शुद्ध गर्न चाहनुहुन्छ भने, रुद्राक्ष सहयोगी साधन हुन सक्छ । जब कोही व्यक्ति आध्यात्मिक मार्गमा हुन्छ, आफूलाई अझ माथि उठाउनको लागि ऊ त्यस मार्गमा पाइने स-साना सहाराहरूलाई समेत उपयोग गर्न चाहन्छ-अवश्य पनि, रुद्राक्ष एकदमै राम्रो सहारा हो । गुरुले रुद्राक्षलाई भिन्न-भिन्न मानिसहरूका निम्ति भिन्न-भिन्न तरिकाहरूले ऊर्जावान् बनाउँछन् । पारिवारिक परिस्थितिमा रहनेहरूका लागि रुद्राक्षलाई एउटा तरिकाले ऊर्जा भरिन्छ । यदि तपाईं ब्रम्हचारी वा सन्यासी हुन चाहनुहुन्छ भने, रुद्राक्षलाई एकदमै फरक तरिकाले ऊर्जा भरिन्छ । यसरी विशेष रूपले ऊर्जा भरिएको रुद्राक्ष पारिवारिक जीवन बिताउने मानिसहरूले लगाउनु हुँदैन ।

साधु, सन्यासीहरूले किन रुद्राक्ष लगाउँछन् ?

जो व्यक्तिलाई लगातार यात्रा गरिरहनु पर्ने हुन्छ वा जसको खाने र सुत्ने ठाउँको ठेगान हुँदैन, ती व्यक्तिहरूका निम्ति रुद्राक्ष असाध्यै राम्रो सहारा हो, किनकि यसले तपाईंको आफ्नै ऊर्जाको सुरक्षा कवच बनाउँछ । तपाईंले यो ख्याल गर्नुभएको हुनुपर्छ कि जब तपाईं कुनै नयाँ ठाउँमा जानुहुन्छ, कहिलेकाहीँ तपाईं तुरुन्तै निदाइहाल्नु हुन्छ; जबकि, कुनै निश्चित ठाउँमा जानुभयो भने, शरीर पूरै थाकेको भए तापनि तपाईं निदाउनै सक्नुहुन्न । यस्तो किन हुन्छ भने, यदि तपाईं वरपरको परिस्थिति तपाईंको ऊर्जाको लागि सहायक छैन भने, यसले तपाईंलाई स्थिर र शान्त रहन दिँदैन । साधुहरू र सन्यासीहरू निरन्तर यात्रा गरिरहने भएकाले फरक-फरक ठाउँहरू र परिस्थितिहरूले समस्या उत्पन्न गर्ने सम्भावना हुन्छ । उनीहरूको निम्ति कहिल्यै एउटै ठाउँमा दुई रात नबिताउने भन्ने नियम हुन्थ्यो । अहिले एकपटक पुन: मानिसहरू आफ्नो पेशा वा व्यवसायको कारण भिन्न-भिन्न ठाउँहरूमा खाने र सुत्ने गर्न थालेका छन्-त्यसैले, रुद्राक्ष सहयोगी हुन सक्छ ।

अर्को कुरा के भने, जङ्गलमा बसोबास गर्ने साधु र सन्यासीहरू जुनसुकै पोखरीको पानी पिउँदैनथे, किनकि कैयौँ पटक प्रकृतिमा रहेका विभिन्न ग्याँसहरूले गर्दा पानी विषालु वा दूषित भएको हुन सक्दछ । यदि उनीहरूले त्यस्तो पानी पिए भने, यसले उनीहरूलाई अपाङ्ग बनाउन सक्दछ वा ज्यान नै लिन सक्दछ । जब तपाईं रुद्राक्षको मालालाई समातेर पानीको माथी झुण्ड्याउनु हुन्छ, यदि पानी राम्रो छ वा पिउन योग्य छ भने, रुद्राक्ष दाँयातिरबाट वा घडिको सुईको दिशामा घुम्नेछ; यदि पानी विषालु छ भने, यो बाँयातिरबाट वा घडिको सुईको उल्टो दिशामा घुम्नेछ । जुन कुराको प्राण-ऊर्जा सकारात्मक हुन्छ, त्यसमाथि रुद्राक्ष झुण्ड्याउँदा, घडिको सुईको दिशामा घुम्नेछ । जुन कुराको प्राण-ऊर्जा नकारात्मक हुन्छ, त्यसमाथि रुद्राक्ष झुण्ड्याउँदा, घडिको सुईको उल्टो दिशामा घुम्नेछ ।

रुद्राक्ष माला लगाउनुअघि ध्यान दिनुपर्ने कुराहरू :

सामान्यतया, दानाहरूलाई मालाको रूपमा उनिन्छ । परम्परादेखि यो मानिएको छ कि मालामा दानहरूको सङ्ख्या एकसय आठ र एउटा अतिरिक्त (१०८+१) हुनुपर्छ । अतिरिक्त दानालाई बिन्दु भनिन्छ । मालामा जहिल्यै पनि एउटा बिन्दु हुनुपर्छ, नत्रभने ऊर्जा चक्रिय (वृत्ताकार) हुन्छ, जसकारण जो मानिसहरू बढी संवेदनशील छन्, उनीहरूलाई चक्कर आउन सक्छ । वयस्कले ८४+१ भन्दा कम दाना भएको माला लगाउनु हुँदैन । त्योभन्दा बढी जति सङ्ख्या भएपनि उचित हुन्छ ।

जब तपाईं दानाहरूलाई उन्नुहुन्छ, यिनलाई रेशम (silk) वा सुती (cotton) को धागोमा उन्नु उत्तम हुनेछ । हरेक छ महिनामा धागो बदल्नु उचित हुनेछ, अन्यथा एकदिन धागो कमजोर भएर चुँडिन सक्छ अनि दानाहरू चारैतिर छरिन सक्छन् । यदि तपाईं तामा, चाँदी वा सुनको प्रयोग गर्न चाहनुहुन्छ भने पनि ठीक छ, तर प्रायः समस्या के भइदिन्छ भने, जब तपाईं सुनार (सुन-चाँदीको काम गर्ने व्यक्ति) लाई माला उन्न दिनुहुन्छ, उनले सुनको तार वा अरू कुनै तारले गाँठो बाँध्दा रुद्राक्षहरू एकदमै नजिक राखेर गाँठो बाँध्छन्, जसले गर्दा रुद्राक्ष भित्रबाट चर्किन सक्छ । यो अत्यन्तै महत्त्वपुर्ण छ कि यसलाई अलिकति खुकुलो पारेर उनिनुपर्छ ।

रुद्राक्षको माला जतिबेला पनि लगाउन सकिन्छ । तपाईं यसलाई नुहाइरहेको बेलासमेत लगाउन सक्नुहुन्छ । यदि तपाईं कुनै केमिकलयुक्त साबुन प्रयोग नगरिकन यत्तिकै चिसो पानीले नुहाउनुहुन्छ भने, रुद्राक्षको दानाबाट बेगको पानी तपाईंको शरीरमा पर्नु विशेषत: राम्रो हुन्छ । तर, यदि तपाईं रसायनयुक्त साबुन र तातो पानीको प्रयोग गरिरहनु भएको छ भने, यो कमजोर हुन्छ अनि केही समयपछि चर्किन्छ । त्यसैले, त्यस्तो समयमा रुद्राक्ष नलगाउनु नै उचित हुन्छ ।

अर्को महत्त्वपूर्ण कुरा के हो भने, तपाईंले लगाउनु भएको रुद्राक्ष अरूलाई दिनुहुँदैन वा अरूको रुद्राक्ष लिनुहुँदैन । किनकि, रुद्राक्षले यस्तो स्पन्दन आफूमा सम्मिलित गरेको हुन्छ, जुन तपाईंको लागि सहायक हुन्छ वा भनौँ त्यसमा तपाईंको केही तत्त्व रहेको हुन्छ । यही कारणले गर्दा, यस संस्कृतिमा हामीले अरूको हातबात नुन, तील, कागती लिनुहुँदैन भनिएको हो । किनकि, यी चिजहरूले अरू कुनै कुराको सम्पर्कमा आउनेबित्तिकै आफूमा त्यसको गुण समाहित गरिहाल्छन् । विशेषगरी, सानो कागतीले सबैथोक सोस्दछ, जसकारण यसलाई मन्दिरमा वा कालो जादुको निम्ति प्रयोग गरिन्छ ।

रुद्राक्ष: नकारात्मक ऊर्जाविरुद्ध सुरक्षा कवच

रुद्राक्ष, नकारात्मक ऊर्जाविरुद्ध एक प्रकारको कवच पनि हो । कुनै व्यक्तिले नकारात्मक ऊर्जाको प्रयोग गरी अर्को व्यक्तिलाई हानी पुऱ्याउन सक्छन् । यो सम्भव छ । यो आफैँमा एउटा पूरै विज्ञान हो । चारवटा वेदहरूमध्ये अथर्ववेद आफ्नो फाइदा र अरूको क्षतिको लागि कसरी ऊर्जाहरूको प्रयोग गर्ने भन्नेबारे केन्द्रित रहेको छ । जो व्यक्ति यसमा निपुण हुन्छ, यदि उसले चाह्यो भने, अरूमाथि भयानक दु:ख–कष्टहरू पुऱ्याउन सकिन्छ-यहाँसम्म कि मृत्यु पनि !

रुद्राक्ष यस्तै कुराहरू विरुद्धको रक्षक हो । तपाईं यो सोच्न सक्नुहुन्छ कि अरू कसैले किन तपाईंलाई नकरात्मक कुरा गर्लान् र ? तर, यो तपाईंमाथि नै लक्षित हुनुपर्छ भन्ने छैन । मानौँ, कसैले तपाईंको छेउमा बसेको व्यक्तिलाई लक्षित गरी केही गऱ्यो । तर, ऊ त्यसप्रति ग्रहणशील छैन भने, अब यसले तपाईंलाई असर गर्न सक्छ, किनकि उसको छेउमा तपाईं बस्नुभएको छ । यो के जस्तो हो भने, मानौँ बाटोमा दुईजना व्यक्तिहरू एक–अर्कामाथि गोली चलाइरहेका छन् । भलै, उनीहरूको मनशाय तपाईंलाई गोली हान्नु नभए तापनि, तपाईलाई गोली लाग्न सक्छ । त्यसैगरी, यी कुराहरू पनि सोहीअनुरूप हुन सक्छन् । यो तपाईंलाई लक्षित गरिएको नहुन सक्छ, तर यदि तपाईं गलत समयमा गलत ठाउँमा हुनुभयो भने यस्तो हुन सक्छ । यी कुराहरूको बारेमा सोचेर एकदमै डराउन जरूरी छैन, तर रुद्राक्षको मालाले कवचको रूपमा काम गर्दछ ।

रुद्राक्ष-आफूलाई कृपाको लागि उपलब्ध बनाउन

मानौँ कि यदि तपाईंले एक वा दुई वर्षसम्म चौबिसै घण्टा आफ्नो शरीरमा रुद्राक्ष लगाउनुभएको छ अनि कुनैदिन यसलाई झिकेर सुत्न खोज्नुभयो भने, तपाईं सुत्न सक्नुहुन्न । यो तपाईंको शरीरको अङ्ग जस्तै आभास हुन्छ, किनकि रुद्राक्ष तपाईंको अंश बनेको हुन्छ, यसले आफैँमा एउटा अङ्ग जसरी काम गर्दछ । यो अङ्गको काम भनेको तपाईंलाई कृपाको लागि उपलब्ध गराउनु हो ।

तपाईं आफ्नो जीवनमा चाहे जेसुकै गर्नुहोस्-चाहे त्यो आध्यात्मकि प्रक्रिया होस् वा स्वास्थ्य वा सुख-समृद्धि-जबसम्म तपाईंमाथि कृपा हुँदैन, तपाईंले सफलता प्राप्त गर्नुहुन्न । यदि कृपा नभएको भए, कोही मनुष्य, कुनैपनि जीव जीवित रहने थिएनन् । यदि तपाईंले सचेतपूर्वक कृपालाई आफ्नो जीवनको हिस्सा बनाउनुभयो भने, सबैथोक सहज र सरल बन्दछ । रुद्राक्षले त्यो सम्भावनालाई बढाउँछ ।

सक्कली रुद्राक्ष कसरी पाउने ?

परम्परागत रूपमा, मालाहरू सदैव यस्ता मानिसहरूद्वारा बेचिन्थ्यो, जो यसलाई आफ्नो जीवनको पवित्र कार्यको रूपमा हेर्दथे । पुस्तौँसम्म उनीहरूले यहि मात्र गरे । उनीहरूले यसबाट आफ्नो जीविका पनि चलाए । तर, मूलभूत रूपमा यो एउटा मानिसहरूलाई प्रदान गर्नु पवित्र कर्तव्य जस्तै थियो । तर, जसैजसै यसको माग बढ्दै गयो, यो कारोबारको रूपमा स्थापित भयो । रुद्राक्ष जस्तै अर्को दाना पनि हुन्छ, जसलाई भद्राक्ष भनिन्छ । यो विषालु हुन्छ । हेर्दाखेरी दुवै उस्तै देखिन्छन् ।

यत्तिकै हेरेर अन्तर छुट्याउन सकिन्न । यदि तपाईंले हातमा लिनुभयो अनि तपाईं संवेदनशील हुनुहुन्छ भनेमात्र तपाईंले थाहा पाउनुहुनेछ । यसलाई शरीरमा लगाउनु हुँदैन, तर अचेल यसलाई धेरै ठाउँमा रुद्राक्ष भनेर बेचिन्छ । त्यसैकारण, तपाईंले रुद्राक्षको माला लिँदा भरपर्दो स्रोतबाट लिनु अपरिहार्य छ ।

सदगुरुको प्रवचनमा आधारित

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ६ : ३२ बजे

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा

मगर साहित्य महोत्सव : स्वयम् सेवक परिचालनका लागि विद्यार्थी संगठनहरुसँग छलफल

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१

सिन्धुलीबाट १८९ किलो गाँजा बोकेको पिकअप गाडीसहित एक जना पक्राउ

काठमाडौं । सिन्धुलीबाट प्रहरीले १८९ किलोग्राम गाँजा बोकेको पिकअप गाडीसहित

धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क

काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी

गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान