नेपालको राजधानी काठमाडौं । राजधानी नआएका जो कोहीलाई मनमा कौतुहलता हुन सक्छ काठमाडौं कस्तो होला भनेर । सम्पूर्ण मुलुककै नेतृत्व गर्न बसेकाहरुको शहर निकै सभ्य, सभा र सुन्दर छ, होला भनेर कल्पना गर्छन होला, राजधानमा पाइला नटेकेकाहरु –यद्यपी उनीहरु कम होलान) । तर त्यस्तो नसोच्नुहोस्, कल्पना गरिएजस्तो छैन, राजधानी शहर । देशको राजधानी शहर सबैतिर अस्तव्यस्त छ । अनि घरबाट निस्केर सडकमा हिँडी साध्य छैन ।
धुलोमाण्डु
विगतका वर्षहरुमा सभ्यताको प्रतिक थियो राजधानी उपत्यका । भानुभक्त आचार्यले काठमाडौं उपत्यकालाई ‘अलकापुरी कान्तिपुरी नगरी’ त्यसै भनेका थिएनन् । सफा सुसंस्कृत उपत्यका एकारित अव्यवस्थित शहरीकरण र अर्कोतिर सरकारी निकायहरुबीच समन्वयको अभावमा हुने तथाकथित विकासे कामले दिन प्रतिदिन कुरुप बनेको छ र कुरुप बन्दै गएको छ । सडक निर्माण गरिन्छ । सडक पींच पनि गरिन्छ । जब सडक निर्माण हुन्छ अनि भत्काउन सुरु गरिन्छ ।
एक त सडक विभागका खञ्चुवा हाकिम र ठेकेदारको मनमौजीको मिलनबाट बनाइने कमजोर पीच, त्यसमाथि, नेपाल विद्युत प्राधिकरण, मेलम्ची खानेपानी, ढल लगायतका निकायले सडक भत्काउन सुरु गर्छन् । राजधानीका भत्किएका सडकमा लाखौं सवारी साधन कुद्ने गर्छन् । अर्कोतिर, उपत्यकाका पालिकाहरुले व्यवस्थापन गर्न नसकेको फोहोर अनि अझै पनि शहरको बाहिरी भागमा रहेका इट्टा भट्टाबाट निस्कने कालो धुँवा । सबैको कुल योग राजधानी उपत्यका धुलोको बादलले छोपिने गर्छ ।
हिउ“द याम सुरु भएसँगै सुख्खापनका कारण उपत्यकासँगै देशका विभिन्न शहरी क्षेत्रमा धुलोको मात्र अत्याधिक बढेको छ । विश्व स्वास्थ्य संगठनले तोकेको वायुु प्रदुषणको मापदण्ड २५ पीपीएम भएपनि नेपालमा यो प्रदुषणको राष्ट्रिय मापदण्ड ४० पीपीएम रहेको छ । यद्यपि अहिले अधिकांश स्थानमा राष्ट्रिय मापदण्डभन्दा वायु प्रदूषणको दर पाँच गुणाले बढेको छ । डब्लुएचओका अनुसार विश्वका प्रदुषित शहरमध्ये काठमाडौं एक हो, जहाँको हावामा हानिकारक कणको मात्रा धेरै छ । अधिकांश स्थानमा वायु प्रदुषणको दर सय भन्दा माथि पुगेको देखिन्छ । जुन अध्याधिक वायु प्रदुषण हो ।
वातावरण विभागले २०७५ जेठदेखि देशभरको वायु प्रदुषण मापनमा एपबाट सुरु गरेको थियो । उपत्यकामा मात्रै अहिले विभिन्न १४ स्थानबाट वायु मापन हुनेगरेको छ । काठमाडौ उपत्यकासंगै देशका अन्य शहरहरुमा पनि वायु प्रदुषण दोब्बर भन्दा बढि भएको वातावरण विभागको रेकर्ड छ ।
सुख्खा मौसम सुरु भएसंगै काठमाडौं, भतmपुर, ललितपुर, चितवन, नेपालगन्ज, दाङ, पोखरा, सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्ड भन्दा पाँच गुणासम्म बढेको छ । यी शहरमा दुई दशमलव पा“च माइक्रोनका वायुको स्तर ६० पीपीएम भन्दा माथि कटेको छ । जुन श्वासप्रश्वासका लागि योग्य हुन सक्दैन ।
विकास निर्माणका कार्य र विशेषगरी सवारी साधनबाट निस्कने धुवा“का कारण वायुको अवस्था दयनिय बन्दै गएको हो । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलि“दो अवस्थामा छ । तथाकथित विकास निर्माणका काम वातावरणमैत्री नभएकोले अझै यो वृद्धि हुने विभागको अनुमान छ । नेपालको मात्र नभइ भारतको प्रदुषित हावा नेपालतर्फ आउने भएकाले तराईका जिल्लाहरु विशेष प्रभावित हुने वातावरण विभागका उपमहानिर्देशक इन्द्रविक्रम जोशी बताउँछन् ।
पछिल्लो समय उपत्यकासंगै देशभर विकास निर्माणका काम त्यसमा पनि सडक सञ्जालको निर्माण द्रुत गतिमा छ । तर यसको सहि व्यवस्थापन गरी काम गर्न नसक्दा यसको प्रत्यक्ष मारमा भने सर्वसाधरण पर्ने गरेका छा । स–साना धुलोका कर्णबाट प्रदूषण बढ्नुमा सवारीसाधन अर्को महत्वपुर्ण तत्व हो । समग्र वायु प्रदुषणको ३६ प्रतिशत प्रदूषण सवारीसाधनका कारण हुने गरेका छन् भने ६० प्रतिशत प्रदूषणमा सवारीसाधन र सडकका धुलो जिम्मेवार रहेको विभागको तथ्याङक छ ।
विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ स“गको साझेदारीमा ‘इन्भारोमेन्ट परफरमेन्स इन्डेक्स २०१८’ (ईपीआई)को प्रतिवेदनमा नेपाल वायु प्रदुषणको सबैभन्दा खराब मुलुकमा नेपाललाई सुचिकृत गरेको थियो । विश्वका १८० देशमध्ये १७६ औं स्थानमा नेपाल छ । वायु प्रदुषणबाट तत्काल असर गर्ने र देख्ने समस्या कम छ । तर यसले दिर्घकालमा मानव स्वास्थ्यका लागि घातक हो । ‘द स्टेट अफ ग्लोबल एयर रिपोर्ट २०१९’ले मानिसको मृत्युको प्रमुख कारणमध्ये वायु प्रदूषणलाई पाँचौँ कारण मानेको छ ।
जनस्वास्थ्यमाथि प्रहार
काठमाडौं उपत्यकासँगै मुलुकका अधिकांश सडकहरु हिउ“दमा धुलो र वर्षातमा हिलाम्य हुनु हाम्रा लागि सामान्य बनेकोछ । वायु प्रदुषण हुनुमा सवारी चाप बढी हु“दा जाम हुने र सुख्खा जाडो मौसममा आगो बाल्ने जस्ता हाम्रा दैनिक गतिविधि पनि हुन । त्यसको साथै विशेषगरी उपत्यकामा तातो हावालाई माथिको चिसो हावाले बाहिरिन नदिने, धुँवा बाहिर जान नसक्ने खाल्डोका रूपमा रहेकाले दुई हजार आठ सय मिटरभन्दा माथि वायु बग्न नपाउ“दा प्रदूषण बढेको वातावरणविद् भुषण तुलाधर बताउँछन् ।
पछिल्लो समय मापन भइरहेको वायु प्रदुषणका आ“कडा हेर्दा राजधानीसँगै देशका प्रमुख शहरहरु दिनप्रतिदिन अस्वस्थकर बन्दै गएको छ । जसको प्रत्यक्ष प्रभाव मानव स्वस्थ्यमा परेको छ । विशेष गरी दिर्घकालीन रोगहरुको प्रमुख जड वायु प्रदुषणलाई मानिन्छ । बढ्दो वायु प्रदुषणबाट मानिसको फोक्सोमा सिधै असर पार्दै मुटुमा क्रमिक समस्या आउँछ । पछिल्ला दिनमा मुटुरोग, मस्तिष्कघात, दम, फोक्सोको क्यान्सरलगायत रोगको ग्राफ निरन्तर उकालो लागेको छ ।
विश्व बैंकको अध्ययनले २ दशमलव ५ पीएम धुलोबाट प्रभावित हुनेमध्ये ७० प्रतिशत मानिसलाई उच्च रक्तचाप, मुटु रोग, हृदयघात, मष्तिष्कघातजस्ता समस्याले ज्यान लिने गरेको तथ्याङक छ । अध्ययनमा १४ प्रतिशत मानिसमा धुवा“ धुलोकै कारण क्यान्सर हुने गरेको छ । १६ प्रतिशत मानिस फोक्सोको समस्या भोग्न बाध्य छन् । वायु प्रदूषणका कारण लाग्ने रोगबाट ज्यान गुमाउनेको संख्या ठूलो छ । सन् २०१८ मा घरभित्र र बाहिरको वायु प्रदूषणका कारण नेपालमा ३७ हजार तीन सयले ज्यान गुमाएको तथ्यांक छ ।
स–साना धुलोको कण फोक्सो हुँदै रक्तनलीसम्म सहजै पुग्दा मानिसको फोक्सो संवेदनशील अंगमा असर पुग्ने चिकित्सक बताउ“छन । पछिल्ला दिनमा फोक्सो र मुटु चेकजाँच गर्न अस्पताल आउने बिरामीको संख्या निकै बढेको सत्य हो । अझै युवा पुस्ताको संख्या बढि छ । मानिसमा धुवा“ धुलोको तनावले फोक्सो हुँदै प्रत्यक्ष रुपमा मुटुमा नै प्रभाव पर्ने चिकित्सकहरु बताउँछन् ।
विकास निर्माणको क्रममा निस्केको धुलोले एलर्जी, छाला र घाँटी लगायतमा समस्या देखिएपनि शरीरको भित्री भागसम्म नपुग्ने चिकित्सकको भनाइ छ । तर सामान्य जस्तो लाग्ने रोगहरु पनि पछि गएर विकराल रुप लिने गर्दछ । धुँवा र धुलोका कारण आँखा रोगीको संख्या समेत वृद्धि भएको छ । वायु प्रदुषणले आँखामा एलर्जी हुने मात्र नभइ पछिल्लो समय धुलो छिरेर असैह्य भइ अस्पताल पुग्नेहरु बढी रहेको अनुभवन छ आ“खा रोग विशेषज्ञ डा अर्चना शर्माको ।
यता सवारी साधनबाट निस्केको धुवा“ले क्यान्सर, हृदयघातजस्ता रोग निम्त्याउ“ने गरेको छ । नेपालको सन्दर्भमा समग्र वायु प्रदुषणको ३६ प्रतिशत प्रदूषण सवारीसाधनका कारण हुने गरेको तथ्याङक छ । सडकमा गुड्ने निजी तथा सार्वजनिक सवारी साधन प्रदुषण मापन पनि गरिन्छ । दैनिक सयौको संख्यामा विभिन्न स्थानबाट यातायातका साधनको प्रदुषण मापन गरिन्छ । तर हरियो स्टिकर वितरणमै मनोमानी देखिन्छ ।
निर्णय कायान्वयनमा सुस्तता
बिहान र बेलुकी कार्यालय समयमा प्रदूषणको दर बढी हुने गर्छ । वातावरण संरक्षणका लागि वातावरणमैत्री स्थानीय सरकारसम्बन्धी ऐन, वातावरण संरक्षण ऐन २०५३, वातावरण संरक्षण नियमावली २०५४ जस्ता विभिन्न ऐन नियमावली छ । तर कार्यान्वयनमा प्रभावकारिता छैनन । यतिसम्मकी सम्बन्धित निकायले आफ्नो क्षेत्रमा काम गर्दा धुलोे धुँवा व्यवस्थापनलाई समेत ध्यान दिने गरेका छैनन । नत सरोकारवाला निकायले यसको बारेमा कसैलाई सचेत नै गराउने गरेका छैनन् । जसले गर्दा धुलोधुँवाले सहरी क्षेत्रमा ढाक्ने गरेको छ ।
काठमाडौं उपत्यकामा वायु प्रदूषण न्यूनीकरणका लागि सरकारले बनाएको कार्ययोजना अलपत्र छ । ‘सफा र स्वच्छ वायुयुक्त काठमाडौं उपत्यका’ नारासहित वातावरण विभागले एक वर्षअघि ल्याएको वायु गुणस्तर कार्ययोजना कार्यान्वयनमा आएको छैन । धुलाम्य सडक, सवारीसाधानबाट निस्कने धुँवा, फोहोरमैलाको कमजोर व्यवस्थापन, उपत्यकाभित्र अझै पनि बाँकी रहेका इट्टा भट्टाबाट निस्कने कालो धुँवा लगायतले काठमाडौंको प्रदूषण अस्वाभाविक रूपमा बढ्दै गएको छ । त्यसो त, सर्वोच्च अदालतले तीन वर्षअघि नै वायु प्रदूषण नियन्त्रणमा ठोस कदम चाल्न आदेश दिए पनि कार्यान्वयनमा चासो देखाइइको छैन ।
कोरोना भाइरसको महामारी नेपालमा समेत देखिन थालेपछि सरकारले २०७६ चैत्र ११ गतेदेखि देशव्यापी लकडाउन लगायो । लकडाउनका कारण सबै सवारी साधनहरु बन्द भए । उद्योगधन्दा कलकारखाना ठप्प भए । त्यसको सकारात्मक प्रभाव भने वातावरणमा देखियो । हुन त विश्वभरकै प्रदुषित वातावरण सुध्रिएको थियो, त्यो समय । काठमाडौं उत्पत्यका यो युगका मानिसले देख्न सक्नेगरी सफा र सुन्दर बनेको थियो । वायु प्रदुषण निकै तल झरेको थियो । यसबाट बुझ्न सकिन्छ, प्रदुषणको मुख्य कारण मानवीय व्यवहार नै हो ।
वायु प्रदुषणलाई अन्त्य गर्न समय लाग्छ । तर सबैले सचेत भएर आ–आफ्नो स्थानबाट मितव्यता अपनाए कम गर्न सकिन्छ । सबै लागी परे न्यूनिकरण गर्न सम्भव पनि छ । तर यसतर्फ न त सरकारको ध्यान जान्छ, न त आम नागरिकको नै । सरकार साथै नागरिक समाजबाट पनि विभिन्न प्रयासहरु भए पनि व्यवहारमा जिम्मेवार नभैदिँदा प्रदुषण नियन्त्रणमा आउन सकेको छैन ।
प्रतिक्रिया