नेपालगन्ज । आठ दश वर्ष पहिलेसम्म नेपालगन्जमा मस्लिम पुरुषहरुले अन्य समुदायसँगै मुस्लिम महिलाहरुलाई आँखा जुधाएर हेर्न पाउँदैन थिए । महिलाहरु पुरुषका अगाडि जानै हुँदैन थियो र जानै परे पर्दा(बुर्का)बाहिरबाट उपस्थित हुनुपर्दथ्यो । परम्पराले अनुमती दिएको बाहेक घर परिवार बाहिरका पुरुषहरुसँग आँखा जुधाएर कुरा गर्न, नजिक बसेर आवश्यक कुराकानी गर्न र सँगसँगै हिँड्न प्रतिबन्ध जस्तै थियो । मुस्लिम पुरुषलाई पनि परम्पराले छुट दिएका बाहेकका अन्य समुदायका महिलाहरुसँग कुराकानी गरेको समुदायमा राम्रा मानिदैनथ्यो । झण्डै १० वर्ष पहिलेसम्म नेपालगन्जमा मुस्लिम बाहुल्य क्षेत्रमा यस्तो प्रचलन रहँदै आएको थियो । किनमेल गर्न वा आवश्यक कामले बाहिर निस्कनुपर्दा अनिवार्य कालो पर्दा(बुर्का) लगाउनु पर्ने भएको भन्दै बजारमा देखिने मुस्लिम महिलाहरु बुर्कामा नै देखिन्थे । बिना बुर्काका निकै कम महिलाहरु सार्वजानिक स्थानमा देखा पर्दथे ।
अहिले भने समयले कोल्टो फेरिसकेको छ । १ दशक अगाडिसम्म त्यो जर्जर परम्परा बोकेको नेपालगन्ज १० वर्ष यता निकै परिवर्तन भएको छ । मदरसा शिक्षामा मात्र केन्द्रित रहेका नेपालगन्जमा मुस्लिम महिलाहरु पछिल्लो दशक चिकित्सकदेखि ईन्जिनियरसम्म बनिसकेका छन् । विद्यालयमा र उच्च शिक्षामा पनि उनीहरुको पहुँच बढेको छ । शिक्षामा सचेतना बढेसँगै परम्परालाई तोड्दै सामाजिक सदभाव, भाइचारा र बन्धुत्व कायम गर्न नेपालगन्जमा मस्लिम र हिन्दु समुदायले उदाहरण नै कायम गरेका छन् ।
१० वर्ष पहिले हिन्दु बहिनीको हातबाट टीका लगाएर फर्कँदा बाँके युनेस्को क्लबका संस्थापक अध्यक्ष प्रवेजअलि सिद्दीकीलाई बाटोमा आफ्नो समुदायले देखेर होच्याउँछन् की भन्ने जस्तो पनि लाग्थ्यो । उनका आफन्तहरुले दशैमा हिन्दु समुदायको घर टीका लगाउन गएको, तिहारमा हिन्दु बहिनीसँग टीका लगाएको विषयलाई त्यति राम्रो मान्दैनथे । मुखै अगाडि नबोले पनि पिठ पछाडि प्रवेजले आफ्नो कुरा काटेको सुन्थे । परम्परा र रिती तोडेको भनेर आलोचना पनि गर्थे । समुदायमा प्रवेज अलि पढेलेखेका भएकाले उनको अगाडि मुख फोर्न भने सक्दैन थिए । “टीका थापेर घर फर्कदा वरिपरिकाले हेरेर कानेखुसी गर्थे, १० वर्ष यता भने कसैले त्यसो गर्दैनन् ।” प्रवेजले भने, “ठुलो सामाना गर्न नपरे पनि पछाडि कुरा काट्नेको संख्या भने धेरै थियो ।”
प्रवेजले बिगत २० वर्षदेखि हिन्दु बहिनीसँग टीका लगाउदै आएका छन् । दशैंमा पनि उनी आफ्ना नजिकका हिन्दु मान्यजनको घर जान्छन् र टीका र आशिर्वाद थाप्छन् । सामाजिक सदभावका लागि मुस्लिमले टीका लगाउने र हिन्दुले ईदमा गला मिलाउने दुबै कार्यको महत्व रहेको उनको भनाइ छ । “हाम्रो ईद उल फित्रमा हिन्दुहरु शुभकामना दिन ईदहगाहासम्म पुगेर अंकमाल गर्छन्, घरमा आएर प्रसाद खान्छन् भने हामीले टीका लगाउन किन नहुने ?” प्रवेजले प्रश्न गर्छन् । प्रवेजले परम्परालाई चुनौती दिंदै थारु समुदायबाट बिहेबारीमात्र गरेनन् विगत १५ वर्षदेखि नेपालगन्ज ४ की माया थापा र नेपालगन्ज एकलैनीकी मिना तुलाधरसँग भाइटीका लगाउँदै आएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरीलाई त आफु फरक धर्म समुदायको मानिस भएको कहिल्यै अनुभुति नै भएन । उनी नेपालगन्जको घरबारी टोलमै हुर्किए । टोलमा उनको बुवाको किराना पसल थियो । टोलका हिन्दु साथीहरुसँग हेलमेल भयो । उनीहरुसँगै पढ्दै, खेल्दै हुर्केकाले उनले आफुलाई फरक धर्म वा समुदायको कहिल्यै सम्झेनन् । सानैदेखि हिन्दुका घर जाने खाने बस्ने र उनको घरमा पनि हिन्दु साथीहरु आउने खाने गर्ने गरेकाले उनी फरक धर्म र परम्पराको अनुभव नै गर्न पाएनन् ।
“टीका त पहिले नै लगाईन्थ्यो, तर फेसबुक नभएकाले कसैले थाहा पाउँदैनथे । मोबाइल आयो, फेसबुक आयो । त्यसपछि टीका लगाएको थाहा पाए” मन्सुरी भन्छन् । उनलाई समुदायले कहिल्यै हिन्दुको घरमा टीका लगाएको र हिन्दु बहिनीसँग भाइटीका मनाएको विषयमा प्रश्न उठाएनन् । उनले यो परिवर्तनको प्रमुख कारण शिक्षा भएको मान्छन् । अशिक्षाका कारण मान्छेहरुले रुढीवादी मानेको र विभेद गर्ने गरेको उनको ठहर छ । “नयाँ युवाहरु पढे, देश विदेश घुमे, सत्यकुरा थाहा पाए अनि अन्धविश्वासको जालो फाट्दै गयो ”, मन्सुरीले भने । मन्सुरीले विगत २० वर्षदेखि नेपालगन्ज १ की पुनम सिंहको हातबाट भाइटीका लगाउँदै आएका छन् ।
नेपाल अपूर्व धार्मिक सहिष्णुताको देश हो । यो सहिष्णुतालाई कसैकसैले विटुल्न पनि नखोजेका हैनन् । पारी छिमेकमा चल्ने असहिष्णुताको हावा नचलाउन खोजेका पनि होइनन् । तर, नेपाली मनले आफ्नो सहिष्णु संस्कारलाई विटुल्न कहिल्यै सफल हुन दिएन । हिन्दु र मुस्लिम समुदायको काँधमा काँध मिलाउने नेपालगन्जको संस्कार नेपाली संस्कार हो । यो संस्कार देशका कुनाकुनामा व्याप्त छ । शिक्षाले ल्याउने परिवर्तनले पुरानो संस्कारलाई परिवर्तन गर्न मद्दत पुर्याएको छ । सबैसमुदायका मानिसलाई तर्कशिल ढंगले सोच्न र व्यवहार गर्न मद्दत गरेको छ । जसका कारण नेपालमा धार्मिक विभेद हैन, सर्वधर्म समभावको मान्यता झन पछि झन बलियो बन्दै गएको छ । त्यसैले त हामी नेपाली हौं भन्दा गर्वले छाती फूल्दछ ।
प्रतिक्रिया